कार्तिक १४ देखि जावलाखेलमा पुष्पमेला


काठमाडौ–फ्लोरिकल्चर एसोसिएसन नेपालले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १६ औं प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेल मैदानमा प्रदर्शनीको आयोजना गर्ने जनाएको हो । ५ दिनसम्म चल्ने मेलामा व्यवसायीक स्टल ५५, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ५ गरी ६२ स्टल रहने मेला संयोजक सिताराम पन्तले जानकारी दिए ।
प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने अयोजकले जनाएको छ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहेको संयोजक पन्तले बताए ।
बिगतमा एसोसिएसनले मात्रै आयोजना गर्दै आएको पुष्प मेला यस बर्ष नर्सरी व्यबसायी सङ्घले समेत सोहि मिति र समयमा नै भृकुटिमण्डपमा आयोजना गर्ने भएको छ । एशोसियसनका अध्यक्ष मिन बहादुर तामाङले केहि नर्सरी व्यवसायीहरु एसोसिएसनभित्रै रहेको दावी गरे । नर्सरी व्यबसायी सङ्घका अहिलेका अध्यक्षलाई पद चाहिएकाले छुट्टै मेला आयोजना गरेको उनको आरोप छ ।
नेपालमा गत अर्थिक बर्षमा पुष्प र पुष्पजन्य बस्तुको निर्यात करिव ६८ लाख र आयात करिव ३३ करोड बराबरको भएको भन्सार बिभागको तथ्याङ्क रहेको छ ।