`

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

Nepal One HD २२ कार्तिक २०८० २०:३४
राजनीति

काठमाडौँ, २२ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङको नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र चीन सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र नेपाल र चीनबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तक्रियाको प्रवेशद्वार भएको उल्लेख गर्दै जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

“हालै जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भूकम्पले सयौँको ज्यान जानुको साथै भौतिक पूर्वाधार र सम्पत्तिमा क्षति पुर्‍याएको छ । यस दुःखद् घडीमा साथ दिएकामा म चीन सरकार र जनताको प्रशंसा गर्न चाहन्छु”, भेटमा उहाँले भन्नुभयो, “यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु ।”

भेटमा चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव जुनझेङले आफ्नो भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको समझदारी कार्यान्वयन गर्ने उद्देश्यले भएको बताउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उहाँले केही दिनअघिको भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पुनःनिर्माणमा चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रतिक्रिया