‘फास्ट ट्र्याक’को सुरुङ निर्माणमा उत्साहजनक प्रगति

अर्थ समाचार

काठमाडौँ, २५ कात्तिक : अनेकौँ बाधा अड्चन र चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ ।
नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताउनुभयो । “नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ”, उहाँले भन्नुभयो ।
आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ । उहाँका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन् ।
हालसम्म निर्माणाधीन सुरुङको कूल लम्बाइ छ दशमलव ४१५ किलोमिटरमध्ये तीन दशमलव १३५ किलोमिटर सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको आयोजनामा संलग्न प्राविधिक प्रमुख सेनानी विनोद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दशमलव ३५५ किलोमिटर लामो महादेवटार सुरुङमा एक दशमलव ४९० किलोमिटर निर्माण भएको छ । यस्तै एक दशमलव ६३ किलोमिटर लम्बाइको धेद्रे सुरुङमा आठ सय छ मिटर तथा एक दशमलव ४३ किलोमिटरको लेनडाँडा सुरुङमा आठ सय ५७ मिटर निर्माण भइरहेको छ ।
सुरुङमार्गको दुवैतर्फबाट खन्ने र सँगसँगै ‘फिनिसिङ’ गर्ने काम भइरहेको छ । गहिरा खोचमा अग्ला प्रकृतिको पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको प्राविधिक प्रमुख सेनानी श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाअन्तर्गत हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नं १ देखि ५ सम्मका ४५ वटा पुलको डिजाइन सम्पन्न भएको र एक हजार सात सय ६८ ‘पाइल’मध्ये एक हजार एक सय ७५ पाइल निर्माण भइसकेको सेनाले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट