व्यवसायिक रुपमै खुल्यो कोरोला नाका


मुस्ताङ– सोमबारदेखि कोरला नाका व्यावसायिक रूपमा खुला भएको छ । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका हुन् । कोरोला नाका व्यावसायिक रूपमा खुल्ला भएसँगै तिब्बतको झोम्बा काउन्टीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकाबासीलाई उपहारस्वरूप पठाएको तिब्बती नुन, चिया,३ घ्यू, कम्बल र सिरकसमेत समेतका सामान लिएर ३ वटा कन्टेनर (१२ वटा मिनी ट्रक)नेपाल भित्रिएका थिए ।
गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा तिब्बतको झोङ्वा काउन्टी हुँदै २० किलोमिटरपर सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ ।
नेपाल–चीनबीच गर्त वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्नेमध्येको कोरोला नाकामा चीनले सूचानाप्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पार्किङ र सुरक्षा पूर्वाधार खडा गरिसकेको छ ।
नेपालपट्टि भने चीनको सहयोगमा हालै नेपाली सुरक्षाकर्मीहरूका लागि अस्थायी आश्रयस्थल बनाइएको छ । भन्सार कार्यालय भने १२ किलोमिटर तल नेचुङमै रहने भएको छ । कोरोला नाका व्यावसायिक रूपमा खुला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचयपत्रका आधारमा तिब्बततर्फ ३० किलोमिटर परसम्मका बजारमा जान र आउन छुट पाउने व्यवस्था भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।