‘प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद’ – राप्रपा (विज्ञप्तिसहित)
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भएको प्रहरी धरपकडप्रति आपत्ति जनाएको छ। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको राप्रपा निन्दाले भत्सर्ना गरेको बताएका छन् ।
प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद, आपत्तिजनक र विडम्बनापूर्ण रहेको उनले विज्ञप्तिमा बताएका छन् ।
हिजो प्रसाईं नेतृत्व समूहले राजतन्त्र फर्काउने, बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएकमो थियो । आज पनि कार्यक्रममा सहभागी हुन पुगेका दर्जनौं समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेस विज्ञप्ति
संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ । प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दु:खद, आपत्तिजनक र विडम्बनापूर्ण छ। आफ्ना मागहरु लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने, घर घरमा पुगेर व्यक्ति व्यक्तिलाई पक्राउ गर्ने, सडकपेटीमा हिडिरहेका नागरिकलाई बिना कारण जथाभावी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ। यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित छ। दमन र धरपकड समस्याको समाधान होइन र हुनै सक्दैन । यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउॅदछ। साथै, गिरफ्तार गरिएका सबैको बिना शर्त अविलम्ब रिहाइ गर्न राप्रपा सरकारसंग माग गर्दछ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी
८ मंसिर, २०८०
