‘आगामी चुनावमा कांग्रेस एक्लै लड्न अहिलेबाट तयारी थालौँ’ – शेखर कोइराला
लुम्बिनी, १६ मङ्सिर : नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आमचुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि अहिलेबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । उहाँले नेपाली कांग्रेस एक्लै चुनाव लड्न एक ढिक्का हुनुपर्नेमा जोड दिंनुभयो । उहाँले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने पनि बताउनुभयो । नेता कोइरालाले कांग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने बताउँदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा भ्रष्टाचार र दण्डहिनता बढेको बढ्यै अवस्था रहेको भन्दै नेता कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सृजना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै युवा पलायन रोकेर स्वदेशमै कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले पार्टी बनाउन युवाको साथ लिनुपर्ने बताउनुभयो । उहाँले गुटबन्दीका कारण सङ्गठन वा देश नबन्ने बताउँदै गुटको पछि भन्दा पनि सङ्गठन वा देशका लागि काम गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
सम्मेलनमा प्रदेशका सात सय ५० बढी प्रतिनिधिको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्मेलनमा सहभागिता थियो ।
प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने लुम्बिनी प्रदेश सभापति पुनले बताउनुभयो । सम्मेलनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ । ती प्रतिवेदनमाथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्यदिशा तय गर्न सुझावको निचोड निकालिने सभापति पुनले बताउनुभयो । प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्यवनको अवस्थाका बारेमा व्यापक छलफल हुने उहाँले बताउनुभयो ।
