मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि, तेलङ्गनामा कङ्ग्रेस अगाडि
भारतीय निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा निर्वाचनमा भाजपा अगाडि देखिएको छ । तेलङ्गनामा कङ्ग्रेसले भारत राष्ट्र समिति (बीआरएस)को १० बर्षसम्मको सत्तालाई अन्त्य गर्नसक्ने देखिएको छ ।
निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार मध्य प्रदेशमा भाजपाले २३० मध्ये १६६ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ६३ सिटमा अग्रता लिएको छ ।
राजस्थानमा भाजपाले १९९ सिटमध्ये ११५ सिटमा अग्रता लिएको छ, जुन अशोक गेहलोत सरकारलाई सत्ताच्युत गर्ने दिशामा छ । राज्यमा कंग्रेसले ६९ सिटमा अग्रता लिएको छ ।
छत्तीसगढको चुनावमा अधिकांश सर्वेक्षण ‘एक्जिट पोल’ले कङ्ग्रेसले सरकार कायम राख्ने अनुमान गरे पनि परिणामले भने अर्कै देखाउँछ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार भाजपाले ९० मध्ये ५५ सिटमा अग्रता लिएको छ भने कङ्ग्रेसले ३५ सिटमा अग्रता लिएको छ ।
तेलङ्गनामा ११९ सदस्यीय विधानसभामा कङ्ग्रेसले ६४ सिटमा अग्रता लिएको निर्वाचन आयोगको अद्यावधिक विवरणले देखाएपछि वर्तमान बीआरएसले हार स्वीकारेको छ । बीआरएसले ३९ सिटमा अग्रता लिएको छ भने भाजपा र बीआरएसका संयुक्त उम्मेदवारले क्रमशः ८ र ७ सिटमा अग्रता लिएका छन् ।
–भाजपा र विकासको राजनीतिप्रति जनताको विश्वास देखिएको प्रधानमन्त्री मोदीको भनाइ–
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य प्रदेश, राजस्थान र छत्तीसगढ विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै परिणामले विकास र सुशासनको राजनीति र भाजपामाथि मात्र जनताको विश्वास रहेको देखाएको बताउनुभएको छ ।
उहाँले मतदाताहरू, विशेष गरी महिला मतदाताहरू र युवाहरूलाई भाजपामाथिको उनीहरूको स्नेह र आशीर्वादको लागि धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री मोदीले भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ जनता अगाडि बढिरहेको र आज हामीले त्यस दिशामा बलियो कदम चालेका छौँ भन्नुभयो । उहाँले भाजपाले जनताको हितका लागि कडा मेहनत गरिरहने बताउनुभयो ।
सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् एक सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “हामी जनतासामु नतमस्तक छौं । मध्य प्रदेश, राजस्थान र छत्तीसगढको परिणामले भारतका जनताको विश्वास सुशासन र विकासको राजनीतिमा मात्र छ, उनीहरूलाई भाजपामा विश्वास छ भन्ने बताइरहेको छ ।”
–पार्टीको विचारधाराको लडाइँ जारी रहने गान्धीको अभिव्यक्ति–
यसैबीच, कांग्रेस नेता राहुल गान्धीले आइतबार मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको विधानसभा चुनावमा पार्टीको हार स्वीकार गरे पनि पार्टीको विचारधाराको लडाइँ जारी रहने बताउनुभएको छ ।
राहुल गान्धीले एक्स (ट्वीटर) मा लेख्नुभएको छ, “हामी मध्य प्रदेश, छत्तीसगढ र राजस्थानको जनादेशलाई विनम्रतापूर्वक स्वीकार गर्दछौं । विचारधाराको लडाइँ जारी रहनेछ ।”
भारत राष्ट्र समिति (बीआरएस), जसलाई यसपहिले तेलङ्गना राष्ट्र समितिको नामले चिनिन्थ्यो, को १० वर्षे शासनलाई हटाएर नयाँ सरकार गठन गर्न लागेको तेलङ्गानामा उहाँले आफ्नो पार्टीले ’प्रजालु तेलङ्गना’ बनाउने वाचा पूरा गर्ने बताउनुभएको छ ।
