`

राष्ट्रसङ्घीय जलवायु प्रमुखद्वारा द्रुत सम्झौताका लागि जोड

Nepal One HD २२ मंसिर २०८० १८:४४
विश्व

संयुक्त राष्ट्रसङ्घका जलवायु वार्ताका प्रमुखले शुक्रबार मुलुकहरूलाई विश्वव्यापी तापक्रमसँग जुध्न ‘अभूतपूर्व’ सम्झौता गर्नका लागि द्रुत गतिमा अगाडि बढ्न दबाब दिनुभएको छ । वार्ताकारहरूले जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले अन्त्य गर्ने विषयमा मतभेदहरू मेटाउन प्रयास गरिरहेका बेला उहाँले त्यस्तो दबाब दिनुभएको हो ।

राष्ट्रसङ्घीय जलवायु वार्ता समयमा विरलै समाप्त हुन्छ तर कोप२८ का अध्यक्ष सुल्तान अल जाबेरले दुबई शिखर सम्मेलनलाई मङ्गलबार बिहान ११ (०७ः०० जिएमटी) बजेको निर्धारित समयमा समाप्त गर्ने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गर्नुभएको छ । दुबईमा रहेका मन्त्रीहरूसँग उहाँले वार्ताकारहरूले शुक्रबार एउटा नयाँ मस्यौदा सम्झौता तयार गरुन् भन्ने आफूले चाहेको बताउनुभयो ।

जीवाश्म इन्धनको भविष्यमा असहमति भए पनि जाबेरले तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) द्वारा आयोजित वार्ता ऐतिहासिक सम्झौताका साथ समाप्त हुने आशा व्यक्त गर्नुभयो । “हामीसँग एउटा आदर्श परिवर्तन गर्ने क्षमता छ”, करिब दुई सय मुलुकका प्रतिनिधिमण्डलहरूले अघिल्लो दिन राहत महसुस गरेको एक दिनपछि उहाँले भन्नुभयो, “कृपया हामीलाई यो काम गर्न दिनुहोस्, मेरा लागि तपाईं अगाडि बढ्न आवश्यक छ र तपाईं ‘कम्फर्ट जोन’ बाट बाहिर आउन आवश्यक छ ।”

जलवायु अभियानकर्ताहरूले युएईको राष्ट्रिय तेल कम्पनी एडिएनओसीका प्रमुख जाबेरलाई गहिरो शङ्काका साथ हेरेका छन् । यद्यपि उहाँले जीवाश्म इन्धनको चरणबद्ध कमी ‘अपरिहार्य’ छ भन्दै आशङ्का गर्नेहरूलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको छ ।

जलवायु परिवर्तनबाट विनाश भएका मुलुकहरूका लागि हानि र क्षति कोषको ऐतिहासिक सुरुआतका साथ कोप२८ गत साता सुरु भएको थियो । “हामीले आशङ्का गर्नेहरूलाई आश्चर्यचकित बनायौँ र आशावादीहरूलाई प्रेरित गर्यौँ”, पछि पत्रकारहरूसँग जाबेरले आफू सकारात्मक र आशावादी रहेको उल्लेख गर्दै भन्नुभयो, “कोप२८ मा केही अभूतपूर्व घटना हुनसक्छ भन्ने मलाई महसुस भएको छ ।”

तेल समृद्ध मुलुक साउदी अरब र कच्चा तेलको प्रमुख उपभोक्ता चीनलगायत केही मुठ्ठीभरका मुलुकले मस्यौदा सम्झौताको अन्तिम पाठमा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले अन्त्य गर्ने भाषालाई समावेश गरिएकामा विरोध गरेका छन् ।

मङ्गलबार एउटा मस्यौदा सम्झौता जारी गरिएको थियो तर वार्ताकारहरू ब्रेकमा जानुअघि बुधबार अर्को मस्यौदा बनाउन असफल रहे । मङ्गलबारको मस्यौदामा जीवाश्म इन्धनका विषयमा तीनवटा विकल्प रहेका छन् । पहिलो विकल्पले हाइड्रोकार्बनबाट ‘व्यवस्थित र न्यायसङ्गत’ निकासको आह्वान गर्दछ ।

दोस्रो विकल्पमा मुलुकहरूले उत्सर्जनमाथि नियन्त्रण गर्न नसकिने अक्षुण्ण जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने प्रयासमा तीव्रता ल्याउनुपर्छ भनिएको छ । साथै सन् २०५० सम्ममा ऊर्जा प्रणालीहरूमा शुद्ध–शुन्य कार्बनडाइअक्साइड प्राप्त गर्नका लागि जीवाश्म इन्धनको प्रयोगलाई ‘द्रुत गतिमा’ कम गर्नुपर्ने समेत दोस्रो विकल्पमा उल्लेख छ ।

अमेरिकी जलवायु दूत जोन केरीले बुधबार कार्बन क्याप्चर प्रविधि जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने प्रयासका लागि महत्त्वपूर्ण रहेको भनाइलाई दोहोर्याउनुभयो । उहाँको भनाइले वासिङ्टन दोस्रो विकल्पतर्फ जान सक्ने सङ्केत गरेको छ ।

तेस्रो र सबैभन्दा विवादास्पद विकल्पले प्रभावकारीरूपमा जीवाश्म इन्धनको विषयलाई सम्बोधन नगर्ने प्रस्ताव गरेको छ । वैज्ञानिकहरूले विश्वव्यापी तापक्रमलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्ने लक्ष्यमा पुग्नका लागि हरितगृह उत्सर्जन सन् २०३० सम्ममा ४३ प्रतिशतसम्मले घट्नुपर्ने चेतावनी दिएका छन् । जीवाश्म इन्धनको अधिकांश प्रयोगले हरितगृह ग्यास उत्सर्जन हुन्छ ।

जीवाश्म इन्धनमाथिको बहसका बावजुद केही सरकारले कोप२८ ले एउटा महत्त्वाकांक्षी सम्झौता प्रदान गर्नसक्ने आशा व्यक्त गरेका छन् । वार्ताको नेतृत्व गर्ने जलवायु मन्त्रीहरूमध्येका डेनमार्कका डान जोर्गेनसेनले भन्नुभयो, “पक्षहरूसँगको घन्टौँको छलफलपछि हामी यो गर्न सक्छौँ र यो सम्भव छ भन्ने मलाई विश्वास छ ।”

जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा चरणबद्ध तरिकाले कम गर्ने विकल्पविरुद्ध साउदी अरब सबैभन्दा वजनदार आवाज भएको मुलुक भएको छ । बर्घिङ्घम विश्वविद्यालयमा साउदी राजनीतिका विशेषज्ञ उमर करिमले एएफपीलाई भन्नुभयो, “हाइड्रोकार्बनको सबैभन्दा ठूलो उत्पादकमध्येको एक साउदी अरबले दुईमध्ये कुनै पनि विकल्पमा समाधान निकाल्न अस्वीकार गर्दछ ।”

राइस विश्वविद्यालयमा मध्यपूर्वका फेलो क्रिस्टियन उलरिचसेनका अनुसार साउदी अरबले चीन र रुससहित जीवाश्म इन्धनका विषयमा समान विचारधारा भएका मुलुकहरूको गठबन्धन खोज्नेछ । यद्यपि अन्य पर्यवेक्षकहरूले चीनले वार्तामा रचनात्मक भूमिका निर्वाह गरिरहेको बताएका छन् । चीन विश्वमा हरितगृह ग्यासको सबैभन्दा ठूलो उत्सर्जक हुनुका साथै नवीकरणीय ऊर्जाको शीर्ष उत्पादक पनि हो ।

कार्यकर्ताहरूले जीवाश्म इन्धनलाई समाप्त गर्नुपर्ने मागलाई लिएर शुक्रबार कोप२८ को विशाल स्थलमा एउटा अर्को विरोध प्रदर्शन गर्दै ‘कोइला होइन, तेल होइन, कार्बनलाई माटोमा राख’ भन्ने नारा लगाएका छन् ।


प्रतिक्रिया