`

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’ : मुख्यमन्त्री जम्कट्टेल

Nepal One HD २३ मंसिर २०८० २१:०९
राजनीति

मनहरी, २३ मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताउनुभएको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मुख्यमन्त्री कार्यलय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो ।

अख्तियारले झुट्टा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने समय भएको बताउँदै उहाँले सर्वप्रथम राजनीतिक नेतृत्व निष्पक्ष र पारदर्शी हुनुपर्ने र त्यसपछि कर्मचारी प्रशासनले पनि त्यस्ता काममा राजनीतिक नेतृत्वलाई उक्साउन नहुने बताउनुभयो ।संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारले चासो बढाएर झन्झट उत्पन्न गराएको बताउँदै उहाँले एउटै उजुरीमा झुलिरहनुपर्ने समस्याले सरकारी कामकाजमा समस्या पारेको बताउनुभयो । उहाँले अख्तियारको भूमिका निष्पक्ष हुनुपर्ने र एकले अर्कालाई सिध्याउने हतियारबाट समयमै सजग रहनुपर्नेमा जोड दिनुभयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रमुख नरहरि घिमिरेले कार्यालयले गरेका सुशासनका प्रगति विवरणका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नागरिक निगरानी संस्थाका अध्यक्ष केदार चौलागाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतिक दबाबमा नपरी निष्पक्ष ढङ्गबाट सुशासन प्रवर्द्धन हुनेगरी काम गर्नुपर्नेमा जोड दिइएको छ ।


प्रतिक्रिया