शीतलहरबाट जोगाउन विपद् व्यवस्थापन समितिको तयारी
जानकी (बाँके), २८ मङ्सिर : बाँकेमा जाडोसँगै शीतलहर चल्न सक्ने भएकाले नागरिकलाई चिसोबाट विपद् व्यवस्थापन समितिले तयारी सुरु गरेको छ । शीतलहरबाट कुनैपनि मानवीय तथा धनजनको क्षति नहोस् भन्नका लागि समितिले तयारी थालेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले बाँकेका नागरिकलाई शीतलहरबाट जोगाउन विभिन्न २१ वटा निर्णय गर्दै पूर्वतयारी थालेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले ‘शीतलहर आकस्मिक योजना–२०८०’ स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको समितिले जनाएको छ ।
नेपालगञ्जमा समितिद्वारा आयोजित कार्यक्रममा प्रजिअ पोखरेलले बाँकेमा जाडो बढेसँगै शीतलहरको सम्भावना पनि बढेकाले पूर्वतयारीका लागि सरोकारवालासँग छलफल गरी अनुकूल वातावरण तयार गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार चिसो तथा शीतलहरका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि तयार गरिएको शीतलहर आकस्मिक योजनाको मस्यौदामाथि सरोकारवालासँग छलफल भएको थियो ।
छलफल पछि प्राप्त सुझावका आधारमा परिमार्जित शीतलहर आकस्मिक योजना–२०८० स्वीकृत गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा आठ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो ।
बैठकले योजना अनुरुप सबैको आ–आफ्नो जिम्मेवारी निर्धारण गरी पूर्वतयारीको व्यवस्था तथा कार्यविभाजन गरेको छ । साथै सबै नगरपालिका र गाउँपालिकाका विपद् व्यवस्थापन समिति तथा विषयगत क्षेत्रले शीतलहर पूर्वतयारी बैठक बसेर आकस्मिक योजना तयार गरी लागू गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
स्थानीय तहसँगको समन्वयमा सबै सङ्घसंस्था, निजी क्षेत्र, रेडक्रस सोसाइटीलगायतले चिसो तथा शीतलहरबाट हुने क्षति न्यूनीकरणका लागि गतिविधि सञ्चालन गर्ने, जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी सूची तयार गर्ने, प्राथमिकताका आधारमा राहत वितरणको योजना बनाउने, जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको विवरण सङ्कलन गर्नेलगायत जिम्मेवारी तोकिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।
चिसोबाट बच्नका लागि बढी चहलपहल हुने स्थानमा आगो बाल्न स्थानीय तहले डिभिजन वन कार्यालय वा नजिकको सब–डिविजन वन कार्यालय र वउपभोक्ता समितिसँग समन्वय गरी आवश्यक दाउरा उपलव्ध गराउनेसमेत निर्णय भएको उहाँले बताउनुभयो ।
शीतलहरको प्रभावबाट बच्न/बचाउनका लागि केन्द्रले स्थानीय भाषासमेतमा जनचेतनामूलक सामग्री तयारी गर्न सहजीकरण गर्ने, जिल्लास्थित पत्रकार महासङ्घसँग समन्वय गरी जिल्लाका सबै स्थानीय एफएम रेडियो, पत्रपत्रिकामा सन्देश प्रसारण/प्रकाशन गर्ने निर्णय भएको प्रजिअ पोखरेलको भनाइ थियो ।
साथै स्थानीय क्लब तथा विद्यालयमा चिसो र शीतलहरबाट बच्ने÷बचाउने उपायका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, जिल्ला प्रहरी कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान सञ्चालन गर्ने, कुहिरो÷हुस्सु लागेको समयमा सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक कार्यालयले सचेतना अभियान सञ्चालन गर्नेलगायत निर्णय भएका उहाँले जानकारी दिनुभयो ।
बैठकमा समितिका अध्यक्ष एवम् प्रजिअ पोखरेलले जिल्लामा विपद् व्यवस्थापनको अवस्थाका बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । जाजरकोट भूकम्पपछि भेरी अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएपछि फोकल पर्सनका रुपमा कार्यरत स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले उपचार व्यवस्थापन तथा राहत सङ्कलन र व्यवस्थापनका लागि भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा समितिले जाजरकोट भूकम्प पश्चात् प्रतिकार्यमा सहयोगी भूमिका निभाउने सरकारी निकाय, कार्यालय, सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरेको छ । भूकम्पका घाइतेको उपचार व्यवस्थापन, राहत सामग्री हस्तान्तरणलगायत क्रियाकलापमा सहयोग पुर्याउनेलाई सम्मान गरिएको हो ।
