नभाल्नी ‘बेपत्ता हुनु’ ले संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ चिन्तित
संयुक्त राष्ट्रसङ्घका एक अधिकार विशेषज्ञले सोमबार रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उहाँलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गर्नुभएको छ । क्रेमलिनका आलोचक नभाल्नीका वकिलहरूलाई डिसेम्बर ६ देखि उहाँसँग भेट्न रोकिएको छ । साथै गत शुक्रबारको निर्धारित अदालतको सुनुवाइका लागि उहाँ उपस्थित हुनुभएन ।
“रुसी अधिकारीहरूले यति लामो समयसम्म नभाल्नीको ठेगाना र स्वास्थ्यबारे सार्वजनिक नगरेकामा मलाई धेरै चिन्ता भएको छ, यो जबरजस्ती बेपत्ता पारिएको समान हो”, रुसमा राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी विशेष प्रतिवेदक मारियाना काटजारोभाले भन्नुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि काँडा बन्नुभएका ४७ वर्षीय नभाल्नीलाई विष दिएर हत्याको प्रयासमा बाँचेपछि सन् २०२१ मा चरमपन्थीको आरोपमा १९ वर्षको कारागार सजाय दिइएको थियो । नभाल्नीलाई डिसेम्बर ११ मा मस्को नजिकैको भ्लादिमिर क्षेत्रबाट हटाएर अज्ञात स्थलमा लगिएको जानकारी नभाल्नीको टोलीलाई शुक्रबार बताइएपछि आफूले रुसी अधिकारीहरूसमक्ष चिन्ता व्यक्त गरेको काटजारोभाले बताउनुभयो । उहाँका अनुसार नभाल्नीका परिवार र वकिलहरूले सबै दण्डित कोलोनीलाई उहाँको ठेगाना पहिचान गर्न पत्र पठाएका थिए ।
“नभाल्नी ओम्स्क दण्डित कोलोनीमा हुनसक्ने उनीहरूलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ तर पछि त्यो जानकारी अस्वीकार गरियो”, उहाँले भन्नुभयो । यस वर्षको प्रारम्भमा एक अदालतले नभाल्नीलाई कठोर कारागारमा सार्ने आदेश दिएको थियो ।
नभाल्नीलाई दोषी ठहर गर्ने चरमपन्थीका आरोपहरू ‘निराधार’ रहेको भन्दै काटजारोभाले बन्दीहरूले यातायातका क्रममा गम्भीर अधिकार उल्लङ्घनको उच्च जोखिमको सामना गर्ने चेतावनी दिनुभयो । राष्ट्रसङ्घीय परिषद्बाट नियुक्त भए पनि राष्ट्रसङ्घका तर्फबाट नबोल्नुभएकी स्वतन्त्र विशेषज्ञ उहाँले ‘अतिवाद’ शब्दको अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएकामा जोड दिनुभयो । “जब यसले आपराधिक दायित्व उत्पन्न गर्छ तब यो मानवअधिकारको उल्लङ्घ हो ”, उहाँले भन्नुभयो ।
उहाँको विज्ञप्तिमा ‘नभाल्नीको अविश्वसनीय आपराधिक उत्पीडन’ को निन्दा गरिएको छ । यसको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा गरिएको छ र यसले राजनीतिक उद्देश्यका लागि अदालत प्रणालीको स्पष्ट दुरुपयोगलाई सङ्केत गर्दछ ।
काटजारोभाका अनुसार नभाल्नीका तीन वकिललाई अक्टोबरमा चरमपन्थीको आरोपमा गिरफ्तार गरिएको भन्दै अब उनीहरूले लामो समयसम्म कारागारको सजाय भोग्नुपर्ने बताउनुभयो । “म रुसी अधिकारीहरूसँग अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरूको पालना गर्नका लागि आह्वान गर्दछु”, उहाँले भन्नुभयो, “नभाल्नी र मनमानी ढङ्गले हिरासतमा लिइएका सबैलाई तत्काल रिहा गरिनुपर्छ र उनीहरूलाई भएको सबै नोक्सानका लागि उपचार र क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।”
