सन् २०२३ मा जर्मनीमा विद्युत्को आधाभन्दा धेरै प्रयोग नवीकरणीय ऊर्जाको हुने
सन् २०२३ मा जर्मनीमा खपत हुने आधाभन्दा बढी विद्युत् पहिलो पटक नवीकरणीय ऊर्जाबाट उत्पादन हुने जर्मन ऊर्जा तथा पानी उद्योग सङ्घले सोमबार बताएको छ । प्रारम्भिक आँकडाअनुसार जर्मनीले यस वर्ष कूल पाँच खर्ब १७ अर्ब किलोवाट घन्टा विद्युत खपत गर्नेछ । सन् २०२२ मा उसले पाँच खर्ब ४० अर्ब किलोवाट घन्टा खपत गरेको थियो ।
यसमा करिब ५२ प्रतिशत नवीकरणीय ऊर्जाबाट आउने सङ्घले बताएको छ । सन् २०२२ मा नवीकरणीय ऊर्जाको योगदान ४७ प्रतिशत थियो । सङ्घका कार्यकारी बोर्डका अध्यक्ष केर्स्टिन एन्ड्रीले भन्नुभयो, “आँकडाले हामी सही मार्गमा रहेको देखाउँछ ।” सन् २०३० सम्ममा आफ्नो ८० प्रतिशत विद्युत् वायु र सौर्य ऊर्जाबाट प्राप्त गर्ने जर्मनीको लक्ष्य छ ।
यद्यपि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा ऊर्जा उत्पादनलाई डिकार्बोनाइज गर्ने योजना सन् २०२२ मा युक्रेनमाथि मस्कोको आक्रमण र त्यसपछि रुसले अत्यावश्यक ग्यास आपूर्तिमा गरेको कटौतीका कारण अस्तव्यस्त भएको छ ।
ग्यासमा आधारित विद्युत् उत्पादनको दबाब कम गर्नका लागि सरकारले कोइलाबाट चल्ने पुराना संयन्त्रहरू अनलाइन ल्याएको छ । पुनः सक्रिय कोइला संयन्त्र सन् २०२४ मार्चसम्ममा सञ्चालन हुनेछ । जर्मनीले सन् २०२३ मा पाँच खर्ब आठ अर्ब किलोवाट विद्युत् उत्पन्न गर्न तयारी गरेको सङ्घले बताएको छ । यसमा एक चौथाइ (२६ प्रतिशत) कोइलाबाट आउने छ ।
सन् २०२२ मा प्रदूषक जीवाश्म इन्धनको विद्युत् उत्पादनमा करिब एक तिहाइ हिस्सा थियो । सन् २०३० सम्ममा जर्मनी कोइलाबाट सम्पूर्णरूपमा बाहिर निस्कने उसको प्रतिज्ञामा अडिग छ तर आशङ्का कायमै छ ।
बर्लिनले वायु टरबाइन स्थापना गर्नका लागि कर्मचारीतन्त्रमा कटौती गर्ने प्रण गरेको छ र ‘स्वच्छ’ हाइड्रोजनमा चलाउनका लागि परिवर्तन गर्न सकिने स्थितिमा मात्र नयाँ ग्यासबाट चल्ने विद्युत् संयन्त्रहरूलाई अनुमति दिने योजना बनाएको छ । यद्यपि केही पर्यवेक्षकहरूले गति अझै पनि सुस्त रहेको बताएका छन् ।
जर्मनीले पनि यसै वर्षको अप्रिलमा उसको बाँकी अन्तिम आणविक ऊर्जा संयन्त्रलाई बन्द गरेको छ । यो उसको लामो समयदेखिको योजनाबद्ध कदम थियो । आणविक ऊर्जा संयन्त्रले जलवायु लक्ष्यहरू हासिल गर्न कठिन हुनसक्ने तर्क केही आलोचकले दिएका छन् ।
