भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता (भिडियोसहित)
काठमाडौँ / परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरेका थिए । त्यसअघि भारतीय विदेशमन्त्री जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका थिए । उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन विदेशमन्त्री जयशङ्कर बिहीबार नेपाल आएका थिए । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र/समझदारीपत्रको आदानप्रदान भएको थियो ।
