हमासद्वारा दुई इजरायली बन्धक मारिएको भिडियो सार्वजनिक


हमासले एउटा नयाँ भिडियो सार्वजनिक गर्दै त्यसमा दुईजना इजरायली बन्धकहरूको शव देखाएको छ । हमासले गाजामा इजरायलले गरेको हवाई हमलाका कारण ती बन्धकहरूको मृत्यु भएको दाबी गरेको छ ।
हमासले ती बन्धकहरू जीवितै रहेको देखिने अर्को भिडियो सार्वजनिक गर्दै इजरेलले हवाई बम हमला जारी राखे बन्धकहरू पनि मारिन सक्ने भनी चेतावनी दिएको एक दिनपछि नै यो नयाँ भिडियो बाहिर आएको छ ।
इजरायलले हमासको नियन्त्रणमा रहेका ती बन्धकहरूको मृत्यु आफूले गरेको हवाई हमलामा भएको भन्ने आरोपको खण्डन गरेको छ। इजरायलका रक्षामन्त्रीले ती ’उग्रवादी’हरूलाई ‘मनोवैज्ञानिक दुर्व्यवहार’को आरोप पनि लगाएका छन् ।
उनले बन्धकहरूको मुक्तिका लागि सैनिक दबाव आवश्यक रहेकोमा पनि जोड दिए । भिडियोमा नोआ आर्गामानी नाम भएकी एक महिलाले चरम दबावमा परेको अवस्थामा बोल्दै गरेको देख्न सकिन्छ ।
भिडियोमा उनी आफूसँगै बन्धक बनाइएका दुईजना पुरुषहरू मारिएका बताउँछिन् । उक्त भिडियोमा बोल्दै उनले इजरायली हवाई हमलाहरूपछि आफूहरू भग्नावशेषमा पुरिएको र हमास लडाकुहरूले ज्यान जोगाउन सफल भएको बताएकी छन् । उक्त भिडियो कहिले रेकर्ड गरिएको थियो भन्ने स्पष्ट छैन ।
उक्त भिडियोमा उल्लेख भएका आर्गामानी, स्भिर्स्की र तेस्रा बन्धक गत वर्षको ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको हमासको हमलापछि हमासले बन्धक बनाएर लगेका २४० जनामध्येका हुन् ।