युक्रेनमा जेलेन्स्की विरुद्द प्रदर्शन
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदबाट हटाउने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपति जेलेन्स्कीको उक्त निर्णयप्रति नागरिक समाजका प्रतिनिधि, सांसद तथा सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।
बिहीबार बिहान राजधानी किएभसहित विभिन्न सहरमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। विशेषगरी युवाहरूको उल्लेख्य सहभागिता रहेको प्रदर्शनमा सरकारको निर्णय फिर्ता लिन माग गरिएको थियो।
प्रदर्शनकारीहरूले ‘फेडोरोभबाट टाढै रहो’ र ‘जितमा बाधा पुर्याउन बन्द गर!’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। उनीहरूले ‘लाज मान!’ भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक रूपमा खमाराको अनुभव र नेतृत्व क्षमताको प्रशंसा गर्दै उनी आधुनिक युद्धको बदलिँदो स्वरूपअनुसार काम गर्न सक्षम व्यक्ति रहेको बताएका छन्। विशेषगरी प्राविधिक तथा उच्च प्रविधिमा आधारित युद्ध अभियान सञ्चालन र समन्वयमा खमाराले उल्लेखनीय अनुभव हासिल गरेको उनको भनाइ छ।
जेलेन्स्कीका अनुसार खमाराले सुरक्षा सेवामा रहँदा विभिन्न जटिल अभियानको नेतृत्व गरेका छन्। उनले विशेष रूपमा ड्रोन, साइबर सुरक्षा, गुप्तचर समन्वय तथा आधुनिक सैन्य प्रविधिको प्रयोगसँग सम्बन्धित अभियानहरूमा काम गर्दै व्यापक अनुभव बटुलेका छन्। ती अनुभवले अहिलेको युद्ध परिस्थितिमा रक्षा मन्त्रालयलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्न मद्दत पुग्ने राष्ट्रपति जेलेन्स्कीको विश्वास छ।
राष्ट्रपतिले खमाराले प्राविधिक युद्ध अभियानहरूमा “व्यापक र धेरै मामिलामा अभूतपूर्व अनुभव” हासिल गरेको उल्लेख गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा यस्तो अनुभव अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। उनले युक्रेनको रक्षा क्षमता सुदृढ बनाउन र युद्ध सञ्चालनलाई अझ प्रभावकारी बनाउन सक्षम नेतृत्व आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।
युक्रेन र रुसबीचको युद्ध जारी रहेका बेला जेलेन्स्कीले रक्षा क्षेत्रको नेतृत्वमा परिवर्तन गर्न खोजेको कदमलाई रणनीतिक महत्वका साथ हेरिएको छ। युद्धको बदलिँदो प्रकृति, आधुनिक प्रविधिको बढ्दो प्रयोग र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अनुभवी सुरक्षा अधिकारीलाई रक्षा मन्त्रालयको नेतृत्वमा ल्याउने प्रयास गरिएको विश्लेषण गरिएको छ।
खमाराको नियुक्ति सम्बन्धी प्रस्तावले आवश्यक संवैधानिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि औपचारिक रूप लिन सक्ने अपेक्षा गरिएको छ।
