आइसीसी यू-१९ विश्वकप : न्युजिल्यान्डद्धारा नेपाललाई ३०३ रनको लक्ष्य प्रस्तुत


काठमाडौ । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा ३०२ रन बनाएको हो ।न्युजिल्यान्डका स्नेहिथ रेडीले नटआउट १४७ रन जोडे । उनले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । कप्तान ओस्कार ज्याकसनले ८१ वलमा ३ चौका र ५ छक्काको सहयोगमा ७५ रन बनाए ।
पहिलो पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा तीन विकेट लिएको थियो । नेपालका लागि सुवास भण्डारीले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरेका थिए । १३.५ ओभरमा नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे । जोन्सले ४५ बल खेल्दा ५ चौका प्रहार गरेका थिए ।
स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिएका थिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा विकेटकिपरबाट क्याच गराए । बलिङमा नेपालका सुवास भण्डारीले ३ विकेट लिए भने गुल्सन झाले २ विकेट लिएका थिए । दिपेश कंँडेल, तिलक भण्डारी र आकास त्रिपाठीले समान १/ १ विकेट लिए ।