कांग्रेस गृहमन्त्रीको बदनाम गर्न लाग्योः अध्यक्ष ओली
धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कांग्रेसले लामिछानेको बदनाम गरेको बताएका हुुन् ।
उनले भने, ‘उनी सहकारी डुबाउने कुरामा लागेका छन् ? पैसा उठाउने सञ्चालक हुन् ? केही पनि छैन भने कसरी छानबिन प्रभावित हुन्छ ?’
अध्यक्ष ओलीले यो कांग्रेस सत्ताबाट बाहिर निस्किनु पर्दाको पीडा भएको बताए । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने नेपालमा मन्त्री र संसद खाली हुने बताए ।
उनले कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिन गएको भन्दै नैतिकताको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘कांग्रेसमा नैतिकताको कुनै अर्थ छैन । एउटा बोलीका भरमा गोकुल बास्कोटा र शेरबहादुर तामाङले राजीनामा दिनुभएको थियो तर, कांग्रेसका मन्त्रीहरू झण्डा छोपेर अख्तियारमा बयान दिएको पनि सुनिएकै हो ।’
