गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नभए आगामी दिनमा सदन चल्न नदिने कांग्रेसको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठनको माग दोहोर्याएको छ ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गर्दै संसदीय समिति गठनको माग गरेको हो । बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरिन् । उनले प्रधानमन्त्रीले गैरजिम्मेवार जवाफ दिएको बताइन् ।
उनले गृहमन्त्रीले कांग्रेसलाई चुनौती दिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘सरकारको उपप्रधानमन्त्रीले चार वर्ष कांग्रेसले संसद अवरोध गरोस् हामी सरकार चलाउँछौँ भन्नुभयो । यस्तो भनेर कसरी चल्छ ?’
उनले कांग्रेसले छानबिन समिति गठनको माग गरेको भन्दै त्यसबाट डराउन नहुने उनले बताइन् । उनले भनिन्, ’छानबिन समिति गठन गरौँ भन्दा उहाँ किन डराउनुभएको हो ? प्रधानमन्त्रीले प्रमाण छैन भनिरहनुभएको छ, हामीसँग यथेष्ट प्रमाण छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायाधीश जस्तो गरी जवाफ दिएको भन्दै उनले असन्तुष्टि जनाइन् । उनले आगामी बैठकसम्म संसदीय समिति गठन नभए सदन चल्न नदिने बताइन् ।
कांग्रेसले केही दिनदेखि गृहमन्त्रीमाथि छानबिनको माग गर्दै उनको राजीनामा माग्दै आएको छ । तर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली समिति गठन आवश्यक नभएको बताउँदै आएका छन् । उनीहरुले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै उनको बचाउ गर्दै आएका छन् ।
