`

इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत

Nepal One HD १७ चैत २०८० ७:५६
विश्व

गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाउनुभएको छ । हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उहाँले वार्ताका लागि सहमति जनाउनुभएको हो ।

वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिन पछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो ।

इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको थियो ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले आफ्नो आदेशमा भनेको छ, “गाजामा प्यालेस्टाइनीहरूले अब अनिकालको मात्र सामना गर्नु परेको नभई भोकमरी सुरू भइसकेको छ ।”

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेख्नुभएको छ, “यो फैसलाले गाजा पट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ ।”अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो तर इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो ।

आइसिजेको पछिल्लो बाध्यकारी आदेश जारी हुँदा इजरायली सेनाले शुक्रबार अल–शिफा अस्पतालमा १२ औं दिन पनि कारबाही जारी राखेको बताएको छ ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले तटीय क्षेत्रमा रातभर दर्जनौँ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

दक्षिणी शहर राफाको एक घरमा १२ जनाको मृत्यु भएको छ । एएफपी टिभीका तस्बिरहरूले देखाएअनुसार हवाई आक्रमणपछि भग्नावशेषमा फसेका मानिसहरूलाई मुक्त गर्न पुरुषहरूले मोबाइल फोनको उज्यालोमा काम गरिरहेका देखिन्छ ।आईसीजेले इजरायललाई ‘तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताको आपूर्ति सुनिश्चित गर्नका लागि सबै आवश्यक र प्रभावकारी उपायहरू’ अपनाउन आदेश दिएको छ ।

– ‘तत्काल युद्धविराम’ –

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको एएफपीलाई उपलब्ध गराइएको इजरायली आधिकारिक तथ्याङ्कमा उल्लेख छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले हमासको विनाशका लागि इजरायलले चलाएको प्रतिशोधात्मक कारबाहीमा कम्तीमा ३२ हजार ६२३ जनाको मृत्यु भएको जनाएको छ ।यस क्षेत्रको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ र गाजाको अधिकांश जनसङ्ख्याले अहिले राफामा आश्रय लिइरहेको छ ।सोमबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गाजामा ‘तत्काल युद्धविराम’, लडाकूले बन्धक बनाएकाहरूलाई रिहा गर्न र ‘मानवीय पहुँच सुनिश्चित गर्न’ माग गरेको थियो ।
सदस्य राष्ट्रहरू यस्ता प्रस्तावहरूको पालना गर्न बाध्य छन्, तर ‘डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)’ ले जमीनमा केही पनि परिवर्तन नभएको बताएको छ ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गत अक्टोबरदेखि आवश्यक सामग्रीको केही अंश मात्र भित्राउने अनुमति दिइएको सहायता समूहहरूले बताएका छन् ।इजरायलले प्यालेस्टिनी पक्षलाई सहायता वितरण गर्ने क्षमताको कमीलाई दोष दिएको छ, मानवतावादीहरूले राहत सहयोग आपूर्ति गर्न पर्याप्त ट्रकहरूलाई अनुमति नभएको बताएका छन् ।जमिनको सीमित पहुँचका कारण धेरै देशहरूले हवाई अवतरण गरेका छन् र साइप्रसको समुद्री करिडोरले गाजामा आवश्यक न्यूनतम खाद्य सहायता प्रदान गरेको छ ।


प्रतिक्रिया