आरोप लाग्नासाथ सबैले राजीनामा गर्ने सर्वदलीय सहमति गरौँ, रास्वपा तयार छः स्वर्णिम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गनै खोजेको हो भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद वाग्लेले सहकारी ठगी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रममा उभिएर बोल्न निषेध गरिएको भन्दै आपत्ति जनाए । उनले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको बताए ।
उनले प्रश्न गरे, ‘ उनले भने ‘आज गृहमन्त्रीले तपाईहरुले यति धेरै आक्षेप लगाउनु भएको छ यही हल भित्र । म रोष्ट्रममा उभिएर जवाफ दिन चाहन्छु भन्दाखेरी उहाँलाई निषेध, यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? यो कस्तो संस्कृति हामी बसाउन खोज्दैछौँ यो असाध्यै चिन्ताजनक छ । संसदीय छानबिन समिति बनाउन आपत्ति होइन । कस्तो नजिर स्थापित गर्न गइरहेका छौँ भन्नेबारे विचार गर्नुपर्ने हुन्छ । सर्वदलिय सहमति गरौँ, आरोप लाग्नासाथ सबले राजीनामा गरौँ । मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौँ ।’
उनले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिएर उहाँको कुरा सुन्नुपर्ने बताए । उनले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसदको सम्बन्धित समितिमा अथवा संसदीय छानबिन समितिमा जान सकिने बताए ।
