‘सर्च एन्ड रेस्क्यू लम्ब्याउँदा नागरिक प्यानिक हुन्छन्’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस तथा बेपत्ता यात्रुको खोजीलाई तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले घटनास्थलबाट पीडित परिवारले आफूलाई निरन्तर फोन गरिरहेको बताए। आफन्तको शव घरभित्रै रहेको भन्दै खोजी र उत्खननका लागि परिवारले आग्रह गरिरहेको उनको भनाइ थियो।
‘मलाई त्रिशूलीबाट फोन आएको छ, परिवारका सदस्यहरूले हाम्रो परिवारको लास यही घरभित्र छ, उत्खनन गर्न पहल गरिदिनुपर्यो भनिरहनुभएको छ,’ श्रेष्ठले सदनमा भने।
उनले खोजी कार्य नदीको सतहमा मात्रै सीमित नगर्न सरकारको ध्यानाकर्षण गराए। नदी आसपासका मठमन्दिर, सार्वजनिक कार्यालय तथा अन्य सार्वजनिक भवनको क्षेत्रमा समेत आवश्यकताअनुसार खोजी र उत्खनन गर्नुपर्ने उनको भनाइ छ।
श्रेष्ठले लामो समयसम्म खोजी तथा उद्धार कार्य जारी रहँदा पीडित परिवारसँगै सर्वसाधारणमा समेत त्रास र अन्योल बढ्ने बताए।
‘सर्च एन्ड रेस्क्यूको काम जति लामो बनायो, त्यति नै नागरिकहरू प्यानिक हुन्छन्,’ उनले भने, ‘त्यसैले सबै संयन्त्र परिचालन गरेर भए पनि छिटो उद्धार कार्य सम्पन्न गर्नुपर्छ।’
उनले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गरी बेपत्ता यात्रुको खोजीलाई परिणाममुखी बनाउन सरकारसँग आग्रह गरे।
