`

जुट उत्पादनको चटारो [फोटो-फिचर]

Nepal One HD १ असोज २०८३ १३:११
फिचर

सुनसरी । सुनसरीका किसान यतिबेला जुट काट्ने, पानीमा गलाउने, केलाउने, सुकाउने र बजार पुर्‍याउने काममा व्यस्त छन्। पछिल्लो एक महिनादेखि जिल्लाका विभिन्न क्षेत्रमा किसानलाई जुट व्यवस्थापनको चटारो छ।

नगदे बालीका रूपमा खेती गरिने जुट काटेपछि करिब १५ दिनसम्म पानीमा डुबाएर राखिन्छ। पर्याप्त रूपमा गलेपछि पानीबाट निकालेर रेसा र सन्ठी छुट्याइन्छ। त्यसपछि जुटको रेसा सुकाएर बिक्रीका लागि तयार गरिन्छ।

जुटबाट निस्कने सन्ठी पनि किसानका लागि उपयोगी हुने गरेको छ। सन्ठी दाउराको विकल्पका रूपमा प्रयोग हुनुका साथै गुइँठा बनाउन तथा खेतबारीमा घेराबेरा लगाउनसमेत प्रयोग गरिन्छ।

भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान रसिद मियाँ अहिले जुट केलाउने काममा व्यस्त छन्। उनले पाँच कट्ठा जमिनमा जुट खेती गरेका छन्।

‘जुट काटेर पानीमा १५ दिन डुबाएपछि केलाउन तयार हुन्छ। अहिले पाँच जना मजदुरलाई केलाउन दुई दिन लाग्यो,’ मियाँले भने।

सोही ठाउँका रञ्जीत मेहताले १० कट्ठा र चन्दन मेहताले १४ कट्ठामा जुट लगाएका छन्। जगदिश मेहताले पनि चार कट्ठा जमिनमा जुट खेती गरेका छन्। स्थानीय क्षेत्रमा पाँच कट्ठादेखि १०, १२ कट्ठासम्म जुट लगाउने किसानको संख्या उल्लेख्य छ।

जुट नगदे बाली भए पनि उत्पादन लागत कम नभएको किसानको भनाइ छ। रञ्जीत मेहताका अनुसार पाँच कट्ठा जमिनमा जुट लगाउँदा करिब ५० हजार रुपैयाँसम्म खर्च हुन्छ।

‘कामदारको समस्या पनि उस्तै छ। महँगो छ, खानासहित एक जना मजदुरलाई दिनको करिब १२ सय रुपैयाँ पर्छ,’ उनले भने।

किसानका अनुसार अहिले स्थानीय बजारमा ४० किलो जुट करिब ६ हजार रुपैयाँमा बिक्री भइरहेको छ। जुट केलाएर सुकाउन थालेपछि व्यापारीहरू किसानकै घरमा पुगेर खरिद गर्ने गरेका छन्।

यसले किसानलाई उत्पादन बजारसम्म लैजानुपर्ने झन्झट भने केही कम गरेको छ। तर मजदुरको ज्याला र उत्पादन लागत बढेकाले मूल्यमा आएको सुधारले मात्रै पर्याप्त प्रतिफल नदिने किसानको गुनासो छ।

सुनसरीमा जुट खेती हुने क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाउँछ।

कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार जिल्लामा गत वर्ष १ हजार ३०८ हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको थियो। त्यसबाट २ हजार १० मेट्रिक टन जुट उत्पादन भएको थियो।

यस वर्ष जुट खेतीको क्षेत्रफल बढेर १ हजार ३३४ हेक्टर पुगेको छ। उत्पादन पनि बढेर २ हजार ८१ मेट्रिक टन पुगेको केन्द्रले जनाएको छ।

भोक्राहा नरसिंहसँगै कोसी, हरिनगर, गढी, बर्जु र देवानगन्ज गाउँपालिका तथा दुहवी र इनरुवा नगरपालिकाका विभिन्न क्षेत्रमा जुट खेती बढी हुने गरेको छ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा उत्पादन हुने जुटले स्थानीय उद्योगको माग धान्न अझै पर्याप्त छैन। स्थानीय उत्पादनले माग नपुगेपछि उद्योगहरूले भारत र बंगलादेशबाट समेत कच्चा जुट आयात गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार किसानले अहिले केही वर्षअघिको तुलनामा जुटको राम्रो मूल्य पाउन थालेका छन्।

उनका अनुसार मूल्यमा सुधार कायम रहे किसानले खेतीको क्षेत्रफल विस्तार गर्न सक्नेछन्। त्यससँगै उत्पादन पनि बढ्ने भएकाले आगामी वर्षमा नेपालले जुट उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

नेपालमा जुट खेतीका लागि आवश्यक तातो र आर्द्र मौसम तथा पर्याप्त वर्षा तराई क्षेत्रमा सहज रूपमा पाइने भएकाले यसको सम्भावना अझै ठूलो छ।

किसानलाई उचित मूल्य, श्रम व्यवस्थापन र बजारको सुनिश्चितता गर्न सके जुट खेती विस्तार हुने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *