`

बालसुधार गृहहरुमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई समितिको निर्देशन

Nepal One HD २३ चैत २०८० १४:५६
राजनीति

काठमाडौँ / प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बालसुधार गृहहरुमा स्वास्थ्यकर्मी रहने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बालसुधार गृहको अनुगमन गर्दा स्वास्थ्यकर्मी नरहेको पाइएको भन्दै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले बालसुधार गृहमा रहेकालाई खुवाउने खानाको गुणस्तर निकै कमजोर रहेको र सफा खानेपानीको पनि अभाव देखिएकाले यसमा बिशेष ध्यान दिन समेत सुझाव दिएको समिति सभापति किरणकुमार साहले जानकारी दिए । केहि सुधार गृहहरु सेवामुलक भन्दा पनि नाफामूलक देखिएकाले संस्थाले नाफामूलक तवरले चलाएका सुधार गृहको अनुगमन गरि सुधार गर्न समेत निर्देशन दिएको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले बालसुधार गृहमा रहेका बालबालिकाको अधिकारमाथि खेलवाड भइरहेको बताएका थिए । समिति सदस्य विन्दबासिनी कंशाकारले बालसुधार गृहको निरन्तर अनुगमन गरेर उनीहरुको समस्या समाधान गर्नुपर्ने बताइन् ।

त्यस्तै समिति सदस्य रोशन कार्कीले बालसुधार गृहहरुमा रहेकाले पढ्न चाहे त्यसको व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा गृहमन्त्रालयका प्रतिनिधिहरुले स्थान अभावका कारण बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी राख्नुपरेकाले नुवाकोट, मोरङ लगाएतका स्थानमा थप सुधारगृह निर्माण प्रक्रिया सुरु गरिएको जनाएका थिए ।


प्रतिक्रिया