मेलम्ची खानेपानी आयोजनाका प्रभावितका माग पूरा गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाका सवारीसाधन तथा कर्मचारीलाई आयोजनास्थल प्रवेशमा रोक लगाउने घोषणा गरेको जानकारी गराएका हुन्।
उनले आन्दोलनका कारण मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भई आयोजना सञ्चालनमा समस्या आउन सक्ने भन्दै सरकारलाई समयमै समस्या समाधान गर्न आग्रह गरे।
दुलालका अनुसार यसअघि मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित पीडित र स्थानीय भेन्डर्सले पानी पथान्तरण बन्द गरेपछि सरकारले विभिन्न सम्झौता गरेको थियो। तर ती सम्झौता अझै कार्यान्वयन हुन नसकेको उनले बताए।
बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा बाढीबाट क्षति पुगेका संरचनाको पुनर्निर्माणलाई मुख्य माग बनाएको दुलालले बताए। स्थानीय भेन्डर्सले भने सरकारले आफूहरूलाई दिनुपर्ने भुक्तानीको माग राख्दै आएका छन्।
‘मेलम्ची खानेपानी आयोजनाका प्रभावित पीडित भेन्डर्स संघर्ष समितिले आज एउटा आन्दोलनको घोषणा गरेको छ। आजदेखि आयोजनाको कुनै पनि गाडी तथा कर्मचारीलाई आयोजनास्थलमा प्रवेश गर्न नदिने भनेर घोषणा गरेको छ,’ उनले भने।
दुलालले विगतमा पनि पीडित तथा स्थानीय भेन्डर्सका माग सम्बोधन गर्ने भन्दै सरकारले पटक–पटक सम्झौता गरेको उल्लेख गरे। पुनः पानी पथान्तरण बन्द गर्ने अवस्था आउन नदिन ती सम्झौता तत्काल कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे।
उनले मेलम्चीदेखि हेलम्बुसम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का तत्काल स्वीकृत गर्न माग गरे। त्यस्तै, मेलम्चीदेखि पाँचपोखरीसम्मको सडकका लागि पनि बहुवर्षीय ठेक्का प्रक्रिया अविलम्ब अघि बढाउन उनले आग्रह गरे।
‘मेलम्चीबाट हेलम्बुसम्मको बाटो बहुवर्षीय ठेक्का अविलम्ब स्वीकृत गरियोस्। मेलम्चीबाट पाँचपोखरीसम्मको बाटोको सन्दर्भमा समेत बहुवर्षीय ठेक्का अविलम्ब गराइयोस्। र विगतमा सरकारले पीडितसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गरियोस्,’ उनले भने।
दुलालले सरकार र प्रभावित पक्षबीच भएका सहमति कार्यान्वयन गरेर समस्या समाधान गर्नुपर्ने बताए।
माग सम्बोधन नभए पुनः पानी पथान्तरणमा अवरोध हुन सक्ने र त्यसबाट मेलम्ची खानेपानी आयोजना सञ्चालनमा समस्या आउन सक्ने भन्दै उनले राजधानीवासीले फेरि खानेपानी अभाव झेल्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराए।
