`

इलाममा २० र बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

Nepal One HD २४ चैत २०८० १९:०१
राजनीति

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ का लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेश्नल अर्गनाइजेशनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गरेको छैन ।

राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेश्नल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ भने अन्य स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । त्यस्तै बझाङ प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र १२ जनाले दर्ता प्रमाणपत्र बुझेका छन् ।
एमालेबाट दमनबहादुर भण्डारी, एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जसपाबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । इलाममा एमालेका उम्मेदवारलाई समेत समर्थन गरेको माओवादी केन्द्रले बझाङमा भने आफ्नै उम्मेदवार अघि सारेको छ ।

माओवादी केन्द्रबाट जनकबहादुर बुढाले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेको बताइएको छ ।


प्रतिक्रिया