युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा फेरि आक्रमण


बीबीसी । संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ठूलो पारमाणविक दुर्घटना निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ । रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ ।
आक्रमणमा तीन जना घाइते भएको बताइएको छ । युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अहिले रुसको कब्जामा रहेको ६ वटा रिएक्टरहरू भएको उक्त विशाल ऊर्जा केन्द्र दुई देशबीचको युद्धको अग्रपङ्क्तिमा छ ।
संयुक्त राष्ट्र सङ्घीय निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले बारम्बार यस्ता आक्रमणविरुद्ध चेतावनी दिँदै आएको छ । आईएईएका प्रमुख रफाएल ग्रोसीले आइतवारको ड्रोन हमलालाई उक्त ऊर्जा केन्द्रले खेपिरहेको “लापरबाहीपूर्ण“ गतिविधि र पारमाणविक सुरक्षामा बढ्दो खतरा भनेका छन् ।
दक्षिणी युक्रेनस्थिति जापोरीजा ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र हो । रुसी फौजले सन् २०२२ को फेब्रुअरीमा युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण सुरु गरेको केही दिनपछि नै उक्त केन्द्र आफ्नो नियन्त्रणमा लिएका थिए । अहिले पनि जापोरीजा परमाणु ऊर्जा केन्द्र रुसी नियन्त्रणमै रहेको छ ।
जापोरीजाबारे जानकारी भएका विज्ञहरूको टोलीसमेत रहेको आईएईएले पछिल्लो आक्रमणका कारण उक्त ऊर्जा केन्द्रमा एउटा रिएक्टरसहित भौतिक क्षति भएको पुष्टि गरेको छ ।
उक्त केन्द्रको रुसी प्रशासनले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताएको छ । आईएईएले आक्रमणबाट भएको क्षतिका कारण पारमाणविक सुरक्षामा सम्झौता नभएको बताएको छ ।