`

नेपाल र भारतका सुरक्षाकर्मीले सफा गरे दशजगा सीमा क्षेत्रका फोहोरमैला

Nepal One HD २७ चैत २०८० ६:५३
समाचार

गोलबजार (सिरहा – सिरहाको बरयारपट्टी र भारतको लदनियाअन्तर्गतको सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेका फोहरमैला व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेका छन् । सिरहाको सशस्त्र प्रहरी नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश वोम्जनको कमान्डमा खटिएको ३५ जनाको टोली, भारतीय सीमा सुरक्षा बललगायतले नेपाल प्रहरी बरियारपट्टीको दशगजा क्षेत्रमा जथाभावी फालेको फोहर सफा गरेको छ ।

दुवै देशका सुरक्षाकर्मीले बरियारपट्टी गाउँपालिका–३ स्थित सीमा पिलर २५६ देखि २५५÷३ सम्मको दशगजा क्षेत्र सरसफाइ गरी सङ्कलित फोहरमैला आगो लगाएर व्यवस्थापन गरेका हुन् । सीमा पिलर वरिपरि पलाएको झार तथा बुट्यान पनि काटेर सफा गरिएको छ ।

सरसफाइसँगै सीमा वारपार हुने अपराध क्रियाकलाप नियन्त्रण गर्ने छलफलसँगै र स्थानीय गुनासो बुझ्न यो कार्य भएको सिरहाको सशस्त्र प्रहरी नं ७ गणका सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैह्ररी जानकारी दिनुभयो ।

विहार लदनियाँका राजदेव यादवले दशजगा क्षेत्रमा भएको सरसफाइको यो दृश्यले दुई देशका नागरिक र सुरक्षाकर्मीबीच सम्बन्ध प्रगाढ हुने बताउनुभयो । उहाँले यस्ता गतिविधिले निरन्तरता पाएमा सीमा सुरक्षा व्यवस्थापन थप सहज हुने बताउनुभयो ।

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी विओपी बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक नवराज खत्री, इलाका प्रहरी कार्यालय बरियारपट्टीका प्रहरी नायब निरीक्षक सञ्जीव साह, भारतीय सुरक्षा बल (एसएसबी) ४१ बटालियन लदनियाँ कमाण्डर गान्धी राम, बजार व्यवस्थापन समितिका अम्बे यादवलगायत स्थानीय सरसफाइमा सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया