`

खोटाङका पर्यटकीयस्थालमा नयाँ वर्षको दिन पर्यटकको घुइँचो

Nepal One HD १ वैशाख २०८१ २०:३८
समाज

खोटाङ, १ वैशाख : नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

पूर्वीपहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको स्वागतमा पर्यटकीयस्थल गएर सामूहिक रूपमा वनभोज (पिकनिक) खाँदै रमाइलो गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन सुरु भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङसाहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, ट्याम्केलगायत जिल्लाका विभिन्न पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने विश्वासमा जिल्लाका स्थानीयले नयाँ वर्षलाई विशेष महत्व दिने गरेका छन् ।

गाउँगाउँका स्थानीय घण्टौँ पैदलयात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिक रूपमा वनभोज खाँदै, नाचगान र रमाइलोका साथ नयाँ वर्ष मनाइरहेका छन् । राँगा, खसी, सुँगुर, भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका स्थानीयले सुख, शान्ति, समृद्धिको कामना गर्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

आज स्थानीयबाहेक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडीसमेतको बाक्लो उपस्थिति देखिएको थियो । सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तहका बासिन्दा गाडी नै भाडामा लिएर वनभोजका लागि यहाँ पुगेका खार्मीका स्थानीय एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता हर्कराज राईले बताउनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई कर्मथलो तथा अध्ययन÷अध्यापनका लागि बसोबास गर्दै आएकाहरू नयाँ वर्ष मनाउन पर्यटकीयस्थलमा गएपछि होटल तथा पसल कम खुलेका उहाँको भनाइ छ । दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजार सुनसानजस्तै बनेको छ ।

पछिल्लो समय पर्यटकीयस्थलबाहेक अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने स्थानीयको घुइँचो भीड लाग्न थालेको राईले बताउनुभयो । दिक्तेल बजारको नजिक रहेको रुपाकोट र मझुवागढीमा शुक्रबारदेखि नै सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङलगायत स्थानमा बूढापाका, युवायुवती र केटाकेटीको घुइँचो देखिन्थ्यो । मासु, चामल र पेय पदार्थलगायतका बन्दोबस्तीका सामानसहित रुपाकोटमा पुगेका नजिकका स्थानीय रुपाकोटडाँडामा दुई–तीन दिन बाससमेत बस्ने गरेका राईले जानकारी दिनुभयो ।

रुपाकोटबाट सर्वोच्च शिखर सगरमाथा, उच्च हिमशृङ्खला, तराईका फाँट, घाँसेमैदान, सूर्योदय तथा सूर्यअस्तको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । समुद्री सतहबाट करिब दुई हजार छ सय मिटर उचाइमा रहेको रुपाकोटमा नयाँ वर्षबाहेक अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यूटावर निर्माण गरिएको छ । सरकारले निर्धारण गरेको एक सय पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्गमा निर्माण गरिएको सो टावरका लागि नगरपालिकाले रु २७ लाख बजेट उपलब्ध गराएको थियो ।

परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल पुगेका सर्वसाधारण साउण्ड सिस्टममा बजाइएका गीतको सुरमा रमाइलो गरिरहेका देखिएका स्थानीय बताउँछन् । नयाँ वर्षकै अवसरमा खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा तीनदिने ‘कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८१’ आयोजना गरिएको छ ।

पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने थालेपछि जिल्ला सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्न स्तरोन्नतिको काम सुरु गरेका छन् । पर्यटनलाई आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहले पर्यटन प्रवर्द्धन गर्न स्तरोन्नतिका साथै प्रचारप्रसारको काम सुरु गरेका राईको भनाइ छ ।

साथै खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा पनि नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिएको छ । सालपा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले किरात ऐतिहासिकस्थल सिलिचुङमा सुम्निमा र पारुहाङ तथा सालपा पोखरीमा नछुङ (धामी)को प्रतिमा स्थापना गर्न लागेको हो ।

यही वैशाख ६ र ७ गते विशेष कार्यक्रमसहित प्रतिमा अनावरण गर्ने तयारी गरिएको समितिका प्रवर्द्धक सरिता राईले जानकारी दिनुभयो । पर्यटकीयस्थल सालपा–सिलिचुङमा किराती पुर्खा सुम्निमा र पारुहाङ तथा धामी (नछुङ) प्रतिमा स्थापना गर्न देशविदेशमा रहेका किरात समुदायले सहयोग गरेका छन् ।


प्रतिक्रिया