`

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छः मुख्यमन्त्री अधिकारी

Nepal One HD १९ वैशाख २०८१ १६:०३
राजनीति

लेखनाथ (कास्की) / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय फस्टाएमात्र रोजगारीप्राप्ति र श्रम अधिकार स्थापित हुने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री अधिकारीले श्रम ऐनका अधिकार स्थापित गर्न सरकार, रोजगारदाता र श्रमिक मिलेर अगाडि बढ्नुपर्ने बताए।

उनले राष्ट्रिय पूँजी निर्माणमा श्रमिकको भूमिका महत्वपूर्ण रहेको भन्दै संविधानप्रदत्त श्रमअधिकार र न्यूनतम ज्याला उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध हरेको बताए। “स्वदेशमै रोजगारी सिर्जना गरी नेपाली युवालाई विदेश पलायनहुनबाट रोक्न प्रदेश सरकार रोजगारदासँग आवश्यक सहकार्य र सहजीकरणका सँगसँगै अगाडि बढ्न तयार छ । त्यसैगरी पर्याटकीय राजधानीका रूपमा रहेको पोखरामा पर्यटन र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सरकार सबैसँग हातेमालो गर्नचाहन्छ”, मुख्यमन्त्री अधिकारीले भने। समृद्ध प्रदेश स्वरोजगारका कार्यक्रम ल्याएर युवालाई स्वदेशमै श्रम गर्ने वातावरण बनाउनका लागि आफूले हरसम्भव प्रयास गर्ने यहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफ्नो पार्टी श्रमिकका मुद्दामा सधैँ गम्भीर रहेको भन्दै श्रम क्षेत्रका माग र मुद्दा सम्बोधनका लागि सहकार्य गर्न तयार रहेको बताए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) की नेतृ गायत्री गुरुङले सबै क्षेत्रमा काम गर्ने मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकार तयार हुनुपर्ने बताइन् । उनले समान काममा लैङ्गिक आधारमा फरक ज्याला दिएर विभेद हुने गरेकाले यो अवस्था अन्त्यका लागि सबै राजनीतिक दल तथा सरकारले सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याइन् ।

मजदुर नेता मुरारी शर्माले मजदुरहरु हरेक दिन असुरक्षित हुँदैगएका भन्दै श्रम आयोग गठन गरी श्रम क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने धारणा राखेका छन् । यसअघि पोखराको बसपार्कर्वबाट श्रमिकहरुसहित ¥याली निकालिएको थियो । र्यालीमा श्रमिकका अधिकार स्थापित गर, सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर, मङ्हगी नियन्त्रण गर, श्रमिक आयोग गठन गरजस्ता नारालगाइएका थिए ।


प्रतिक्रिया