`

सहकारीको रकम अपचलनको छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई राप्रपाको निर्देशन

Nepal One HD २१ वैशाख २०८१ ८:२९
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलन आरोप लागेकी आफ्ना सांसद गीता बस्नेतबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ । साथै राप्रपाले प्रतिनिधि सभा सदस्य बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन पनि दिएको छ ।

बिहीबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आफ्ना सांसद बस्नेतका साथै सहकारी ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन गर्न सरकारसँग माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाकी प्रतिनिधिसभा सदस्य माननीय गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषय सञ्चारमाध्यममा सार्वजनिक भएकोमा सो सम्बन्धी छानबिनमा सघाउ पुर्याउन मा. गीता बस्नेतलाई निर्देशन दिइएको छ । साथै उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलनसम्बन्धी त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपा सरकारसँग माग गर्दछ।’


प्रतिक्रिया