`

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा

Nepal One HD २४ वैशाख २०८१ ७:३७
समाचार

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालनमा आएको छ । यही वैशाख १९ गते परेको चट्याङले भोटखोला–२ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा क्षति पुगेपछि उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन अवरुद्ध भएको थियो ।

दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा शनिबारदेखि पुनः सञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो । विराटनगरदेखि आएको प्राविधिक टोलीले लची डाँडामा राखिएको टावरमा मर्मत गरेपछि शनिबारदेखिसञ्चालन भएको दूर सञ्चार कार्यालय खाँदबारीका प्रमुख राईले बताउनुभयो । भोटखोला वडा नं २ र ४ को सिमानामा रहेको लची डाँडामा राखिएको टावरमा चट्याङले बिगारेपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । 

चट्याङले ब्याट्री ब्याकअप, उपकरण र टावरका सामग्री पड्केपछि टेलिफोन सेवा अवरुद्ध भएको थियो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का  हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा लाभान्वित भएका छन् । विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेछ ।   प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीदेखि प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ ।  

प्रतिक्रिया