`

राखेपद्वारा आठ खेलाडी पुरस्कृत

Nepal One HD १६ जेठ २०८१ ९:४२
खेलकुद

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई र उसुका समान १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

खेलाडीलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए।

एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६ औं एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए ।
शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत गरियो ।

ललितले माल्दिभ्समा भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५ औं एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिंजालीले पुरस्कार पाए । गुणराजले थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमी प्रोमा गुणराजअघि कुनैपनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।

जम्मा ६ लाख ५० हजार नगद पुरस्कार वितरण गरियो । राजपुरा र राममायाले समान ५५–५५ हजार नगद पुरस्कार पाए । बाँकीलाई समान ९०–९० हजार नगद पुरस्कार प्रदान गरियो ।


प्रतिक्रिया