`

खेलकुदमन्त्री श्रेष्ठद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण

Nepal One HD १७ जेठ २०८१ १५:३२
खेलकुद

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बिहीबार मैदानको निरीक्षण गर्दै उनले बजेट बढेर आएपनि गर्नुपर्ने कामहरु असीमित रहेको भन्दै यसमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

उनले दर्शकहरुको खानेपानी र शौचालयको सुविधाको विषय महत्वपूर्ण भएको भन्दै त्यसलाइ पनि सम्बोधन गर्दै जाने भन्ने निष्कर्षमा पुगेको बताए ।

रकमको सही सदुपयोग गर्ने, खेलाडीहरुको लागि होस्टेलको व्यवस्था र संरचनालाई सुदृढ गर्ने विषयमा मन्त्रालय गम्भीरताका साथ लाग्ने पनि उनले बताए ।

त्यसक्रममा नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले मन्त्री श्रेष्ठको कुराले उत्साहित भएको भन्दै कानूनको अधिनमा रहेर छिटोभन्दा छिटो परिणाम ल्याउने हिसाबले अगाडि बढ्ने बताए ।

अवलोकन भ्रमणमा क्रममा मैदानमा अभ्यास गरिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई पनि भेटेर मन्त्री श्रेष्ठले कूटनीतिक पहलहरु भइरहेको सुनाउँदै सरकार गम्भीर रुपमा लागेको बताए ।

उनले भने, ‘हाम्रो तर्फबाट सतप्रतिशत काम भएको छ । उताको कुरा के के हुन्छ हेरौं । त्यसमा कूटनीतिक कुराहरु छन् । सरकार पनि एकदम चिन्तित छ । कूटनीतिक कार्यमा गएर रोकिएको हो । केही राम्रो नै हुन्छ भन्ने आशा गरौं ।’


प्रतिक्रिया