गुनासो नआउनेगरी काम गरौँः मन्त्री गुप्ता
काठमाडौँ, ३१ असारः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीको सरुवा तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेपलगायतका कुनै प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले निजामती सेवाको गरिमामा कुनै आँच नआउनेगरी कर्मचारी व्यवस्थापन गर्ने जिकिर गर्नुभयो ।
राज्यकोतर्फबाट जनतालाई उपलब्ध गराउन पर्ने सेवासुविधा सहज र सरल रुपमा गराउन कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुप्ताले सङ्घीय मामिला मन्त्रालय सबै स्थानीय तह र प्रदेश सरकारको सम्पर्क मन्त्रालय भएकाले सबै पक्षलाई मिलाएर लैजान हरप्रयत्न हुने धारणा राख्नुभयो । उहाँ मन्त्रालय पुग्दा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालगायतका कर्मचारीले स्वागत अभिवादन गर्नुभएको थियो ।
विसं २०२७ चैत २० गते पर्साको भोराटारमा–७ मा जन्म भई विसं २०४३ देखि राजनीतिमा प्रवेश गर्नुभएको मन्त्री गुप्ताले अनेरास्ववियु हुँदै एमालेको क्षेत्रीय अध्यक्ष हुनुभयो । विसं २०७२ मा पार्टी जिल्ला कार्यसमिति र १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएका उहाँ विसं २०७० र विसं २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।
