सुरक्षाका लागि विद्यार्थी नेतालाई पक्राउ गरिएको बङ्गलादेशको प्रशासनको दाबी


बङ्गलादेशमा निजामती सेवामा आरक्षण (कोटा) प्रणालीको विरोधमा भएको प्रदर्शनले देशव्यापी अशान्ति मच्चाएपछि तीन विद्यार्थी नेतालाई उनीहरूको सुरक्षाका लागि नै हिरासतमा लिइएको बङ्गलादेशको प्रशासनले जनाएको छ ।‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का प्रमुख नाहिद इस्लाम र प्रदर्शन समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको र सादा पोशाकमा आएका प्रहरीले उनीहरूलाई लिएर गएका थिए ।
सडक प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । अस्पताल र प्रहरीले एएएफपीलाई दिएको तथ्याङ्कअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही दिनयता चलेको झडपमा कम्तीमा २०१ जनाको मृत्यु भएको थियो ।इस्लामले यसै साताको सुरूमा एएफपीसँग कुरा गर्दै उहाँको राजधानी ढाकाको एक अस्पतालमा उपचार भइरहेको बताउनुभएको थियो ।
इस्लाम र उहाँका दुई सहकर्मीलाई हिरासतमा लिएको भन्ने कुरा प्रहरीले सुरुमा अस्वीकार गरेको थियो तर गृहमन्त्री असदुज्जमान खानले शुक्रबार अबेर पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “केही मानिसहरूले उनीहरूलाई धम्की दिएको र उनीहरूले असुरक्षित महसुस गरिरहेको सूचनापछि सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको हो ।”
उहाँले भन्नुभयो, “उनीहरूको सुरक्षाको लागि धम्की कसले दिइरहेको छ भनेर पत्ता लगाउन सोधपुछ आवश्यक छ । सोधपुछपछि हामी अर्को कदम चाल्नेछौँ ।”
खानले तीनै जनालाई औपचारिक रुपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गर्नुभएको छैन । गत हप्ता ढाकाका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच सडक सङ्घर्ष भएको र सरकारी भवन र प्रहरी चौकीमा आगजनीसमेत भएको थियो ।आन्दोलनमा सहभागिता बढ्न थालेपछि हसिना प्रशासनले सेना परिचालन गरेको, देशव्यापी इन्टरनेट अवरोध गरेको र शान्ति बहालीका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।
प्रहरी र सरकार समर्थित विद्यार्थी समूहले गत हप्ताभन्दा पहिले शान्तिपूर्ण रूपमा रहेको ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’द्वारा आयोजित सडक ¥यालीमा आक्रमण गरेपछि अशान्ति सुरु भएको थियो ।
समूहका प्रमुख संयोजक २६ वर्षीय इस्लामले सोमबार अस्पतालको शय्याबाट एएफपीसँग कुरा गर्दै उहाँको जीवनमाथि खतरा रहेको बताउनुभएको थियो । दुई दिनअघि प्रहरी जासुस दावी गर्ने एक समूहले आफूलाई आँखामा पट्टी बाँधी, हत्कडी लगाई अर्को दिन बिहान रिहा हुनुअघि यातना दिन अज्ञात स्थानमा लगेको उहाँले बताउनुभयो ।
प्रदर्शनको नेतृत्व गरेका अर्का सदस्य आसिफ महमुदले एएफपीसँग कुरा गर्दै गत साताको अशान्तिका बेला आफूलाई पनि प्रहरीले हिरासतमा लिएको र कुटपिट गरेको बताउनुभएको थियो ।
अशान्ति सुरु भएयता प्रहरीले कम्तीमा चार हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।“हामीले राजधानीमा छापा मारेका छौँ र अपराधीलाई पक्राउ नगरेसम्म हामी छापा मार्ने क्रम जारी राख्नेछौँं,’ ढाका महानगरीय प्रहरीका संयुक्त आयुक्त विप्लवकुमार सरकारले एएफपीसँग बताउनुभयो ।उहाँले सुरक्षाकर्मीले सामान्य विद्यार्थीलाई पक्राउ नगर्ने तर सरकारी सम्पत्तिमा तोडफोड गर्ने र आगजनी गर्नेहरूलाई मात्र पक्राउ गरिने बताउनुभयो ।