`

आरटी विवादमा रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउने

Nepal One HD २१ भदौ २०८१ १८:३७
विश्व

क्रेमलिनले शुक्रबार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले बुधबार आरटीका दुई कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

“समरूप प्रतिक्रिया सम्भव छैन, अमेरिकामा कुनै सरकारी समाचार एजेन्सी छैन र अमेरिकामा कुनै सरकारी टेलिभिजन छैन”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले आरआइए नोभोस्ती समाचार एजेन्सीसँग भन्नुभयो, “तर पक्कै पनि त्यहाँ उपायहरू हुनेछन् जसले उनीहरूको मिडियालाई उनीहरूको जानकारी प्रसारण गर्न प्रतिबन्धित गर्नेछ ।” रुसको कडा पकडको दुर्लभ स्वीकारोक्तिमा पेसकोभले युक्रेनमाथि आक्रमणका क्रममा मस्कोको अभूतवपूर्व सेन्सरसिपलाई पनि जायज ठहर गर्नुभयो । उहाँले तास समाचार एजेन्सीलाई दिनुभएको भिन्नै टिप्पणीमा भन्नुभयो, “हामी जुन युद्धको अवस्थामा छौँ त्यसमा प्रतिबन्ध जायज छ र सेन्सरसिप पनि जायज छ ।”

उहाँले अमेरिकी मिडियाविरुद्ध रुसले कस्तो प्रतिबन्ध लगाउने भन्नेबारेमा बताउनुभएन । मस्कोले युक्रेनमा आक्रमण सुरु गर्दा द्वन्द्वमा स्वतन्त्र रिपोर्टिङलाई लक्षित गर्ने कानूनका बीच अधिकांश अमेरिकी मिडिया आउटलेटले रुसबाट आफ्ना कर्मचारी घटाए वा हटाए । अमेरिकी अर्थ मन्त्रालयले बुधबार प्रतिबन्ध लगाइएका १० व्यक्ति र दुई संस्थामा आरटीका प्रधानसम्पादक मार्गरिटा सिमोनियन र उहाँका डेपुटी एलिजाभेटा ब्रोडस्किया समावेश छन् ।


प्रतिक्रिया