`

नेपाल संवत् ११४७ सुरु, बाजागाजा र झाँकीसहितको रौनक (तस्वीरहरू)

Nepal One HD २५ कार्तिक २०८३ ११:०६
फोटोफिचर

काठमाडौं । नेवार समुदायको मौलिक नयाँ वर्ष नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ । नयाँ वर्षको स्वागतसँगै आज नेवार समुदायले परम्परागत रूपमा म्हः पूजा पनि गर्दैछन् ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थान तथा विदेशमा रहेका नेवार समुदायले र्‍याली, सांस्कृतिक झाँकी, बाजागाजा र शुभकामना आदानप्रदान गरी नेपाल संवत् मनाइरहेका छन् ।

काठमाडौंको वसन्तपुरबाट पनि विभिन्न परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको छ । र्‍यालीमा नेवार समुदायका विभिन्न संघसंस्था, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागिता रहेको छ ।

नेपाल संवत्लाई नेवार समुदायले आफ्नो मौलिक नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । ऐतिहासिक मान्यताअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ अर्थात् सन् ८८० मा गरिब जनताको ऋणमोचन गराएर नेपाल संवत् सुरु गरेका थिए ।

नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानसँग जोडिएको नेपाल संवत् राष्ट्रिय गौरवको संवत्का रूपमा समेत परिचित छ ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा मनाइने म्हः पूजाको पनि विशेष सांस्कृतिक महत्त्व छ । यस दिन नेवार समुदायले आफ्नै शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ ।

नयाँ वर्ष र म्हः पूजाले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *