अर्थमन्त्री पौडेल र चिनियाँ उपप्रधानमन्त्री लिफेङबीच बेइजिङमा भेटवार्ता, विगतमा गरिएका घोषणा कार्यान्वयन गर्न आग्रह


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री ही लिफेङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको थियो ।
भेटमा चीनका उपप्रधामन्त्री ही लिफेङले चीन सरकारका तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने बताएका थिए । उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
भेटमा अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन आग्रह गरेका छन् । त्यसैगरी, चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि अर्थमन्त्री पौडेलले आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता जनाएको बताए ।
करिब एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू सहभागी थिए ।
चीन सरकारका तर्फबाट उपप्रधानमन्त्री ही लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेसनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, नागरिक उड्डयन प्रमुख सोङ च्योङलगायत सहभागी थिए ।