बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने


काठमाडौं । बिहीबारदेखि आइतबारसम्म ५७ जिल्लामा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो ।
बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकोले भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले बिहीबार दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै, तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यी जिल्ला उच्च जोखिममा
महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ । ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ ।
यस्तै बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन् ।
यस्तै लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदुरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ ।
