प्रधानमन्त्रीलाई चिनियाँ विदेशमन्त्री वाङको आश्वासनः नेपालको समृद्धिको यात्रामा सक्दो सघाउँछौं


न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा बिहीबार शिष्टाचार भेट गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको स्थापना हुनुभन्दा अगाडिदेखि नेपाल–चीन सम्बन्ध कायम भएको बताउँदै प्राचीन ऋषिमुनी र बौद्धमार्गीहरूले जनस्तरमा समेत सम्बन्ध विस्तार गरेको स्मरण गरे ।
विदेशमन्त्री वाङ चीनको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिँदैछन् ।
नेपालको समृद्धि र विकासका लागि चिनियाँ सहयोग महत्त्वपूर्ण हुने अपेक्षा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए ।
चीनका विदेशमन्त्री वाङले नेपाल–चीनको पुरानो छिमेकी भएकाले आपसी सहकार्यलाई बढाउँदै नेपालको समृद्धिको यात्रामा सक्दो सघाउन चीन तयार रहेको बताए ।
न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।
प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिसँग भेटवार्ता गरिरहनुभएको छ । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आजै साँझ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।