`

कालोबजारी नियन्त्रण गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

Nepal One HD ११ असोज २०८१ १९:४२
प्रमुख खबर

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वका बेला महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार एमाले विपद् व्यवस्थापन तथा स्वयं सेवा विभाग प्रमुख खिमलाल भट्टराईले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै दसैं, तिहार, छठ पर्वलाई केन्द्रित गरी सडकको अवस्था सुधार, महँगी नियन्त्रण, सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका हुन् ।

चाडबाडका बेला महँगी नियन्त्रण गर्न सरकारी संयुक्त टोली परिचालन गर्नसमेत एमालेको आग्रह छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘चाडपर्वहरुमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रणको निम्ति तत्काल अनुगमनकारी संयन्त्रहरुलाई परिचालन गर्दै गुणस्तरीय र सुपथ मूल्यका पसलहरु देशभरि जनपहुँचका ठाउँहरुमा संचालन गरियोस् । दाल, चामल घिउ, तेल, चिनी, तरकारी, फलफूल र मासुजन्य वस्तुहरु सर्वशुलभ र सुपथ मूल्यमा प्राप्त हुने वातावरण बनाइयोस् ।’

त्यस्तै सडकमार्गका होटलहरुको अनुगमन गरी गुणस्तरीय खाना, खाजा र मूल्य नियन्त्रणका लागि सरकारका संयन्त्र परिचालन गर्न आग्रह गरिएको छ । एमालेले यसअघि पनि आफ्नै नेतृत्वको सरकारलाई महंगी नियन्त्रणका लागि ध्यानाकर्षण गराएको थियो ।


प्रतिक्रिया