`

प्रधानमन्त्रीले बोलेको ‘डाँफेज’ र ‘गैडाज्’ शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गरौंः महासचिव पोखरेल

Nepal One HD १८ असोज २०८१ ११:०३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘डाँफेज’ र ‘गैडाज्’ शब्दलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणमा अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज र गैडाज् शब्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक संजालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो । उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपी उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोल बनाइएको थियो ।


प्रतिक्रिया