`

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालद्वारा अमेरिका पराजित

Nepal One HD ४ कार्तिक २०८१ ९:५६
खेलकुद

काठमाडौँ । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी–२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आइतबार भएको खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । 


जितसँगै नेपालले शृङ्खलामा २–० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा नेपालले घरेलु टोली अमेरिकामाथि १७ रनको जीत हासिल गरेको थियो । 


नेपालले अमेरिकालाई जीतका लागि एक सय ७१ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७० रन बनाएयो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो ।


सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै सुपर ओभरमा २ विकेट लिए । त्यसपछि नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले तीन रन बनाउँदै सुपर ओभरमार्फत नेपाललाई जीत दिलाए ।


खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । 


नेपालका लागि कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ९२ रन बनाएका थिए । उनी प्लेअर अफ दि म्याचसमेत बने  । त्यस्तै अनिलकुमार शाहले २५, गुल्शन झाले १७ तथा कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गरे ।


अमेरिकाका जसदीप सिंह र नोस्थुस केन्जिगेले समान दुई/दुई विकेट लिए भने सौरभ नेत्राभाल्करले एक विकेट हात पारेका थिए । 


अमेरिकाका लागि आन्द्रे गौसले ६२ रन बनाए भने  साइटेजा मुक्कामल्लले ४७ रनको योगदान गरे । नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट हात पारे । त्यस्तै सोमपाल कामीले दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिएका  । 


नेपालले अमेरिकाविरुद्धको तेस्रो तथा अन्तिम खेल मङ्गबलार खेल्नेछ । 


प्रतिक्रिया