ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने


बेइजिङ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ।
गत नोभेम्बरमा दोस्रोपटक निर्वाचित भएका ट्रम्पले सोमबार वासिङ्टनमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना उपराष्ट्रपतिलाई पठाउने भएका हुन्।
शपथ समारोहमा आमन्त्रण गर्ने पाहुनाको सम्बन्धमा नजिरलाई तोड्दै ट्रम्पले चिनियाँ राष्ट्रपति र विश्वका अन्य नेतालाई समारोहमा आमन्त्रण गर्ने जानकारी उनको संक्रमणकालीन टोलीले गराएको थियो। चिनियाँ विदेश मन्त्रालयले भने ट्रम्पको शपथ समारोहमा उपराष्ट्रपति सीको ‘विशेष प्रतिनिधि’का रूपमा हान सहभागी हुने जनाएको छ।
‘चीनले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई हेर्ने र बढाउने कार्यमा सहकार्य र समन्वयको सिद्धान्तलाई अनुसरण गर्दछ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
‘हामी नयाँ अमेरिकी सरकारसँग वार्ता र संवाद बढाउन र मतभेदको उचित व्यवस्थापनका लागि काम गर्न तयार छौँ,’ विज्ञप्तिमा उल्लेख छ। बेइजिङले ‘स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्धलाई संयुक्त रूपमा अगाडि बढाउन र दुई देशलाई एक–अर्कासँग घुलमिल हुनका लागि सही बाटो खोज्न’ इच्छुक रहेको बताएको छ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पको चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो। खासगरी उनले चिनियाँ सामानमा अतिरिक्त करको घोषणा गरेपछि दुई देशबिच व्यापार–युद्ध चलेको थियो। विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनबाट आयात हुने धेरै सामानमा करको दायरामा अत्यधिक वृद्धि भएको थियो।
उनले बेइजिङले अनुचित व्यापार अभ्यास गरेको र संयुक्त राज्य अमेरिकामा विनाशकारी फेन्टानिल संकटमा भूमिका खेलेको आरोप लगाउँदै यसपटक थप कडा उपायहरू लागू गर्ने चेतावनी दिएका छन्।