`

गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य: गृहमन्त्री लेखक

Nepal One HD ६ फागुन २०८१ १९:१९
राजनीति

मकवानपुर, ६ फागुनः गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको बताउनुभएको छ ।

बागमती प्रदेश राजधानी हेटौँडामा आजदेखि सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ उद्घाटन गर्दै उहाँले सोही उद्देश्यका साथै मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन वर्तमान सत्तासमीकरण बनेको बताउनुभयो ।

गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको उल्लेख गर्नुभयो । निजी क्षेत्रलाई व्यावसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको भन्दै उहाँले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताउनुभयो ।

निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा हेटौँडा–१०, टिसिएन चौरमा सुरु भएको मेला यही फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

मेलामा करिब तीन सय स्टल रहेका छन् । मेलामा नवीनतम निर्माण उपकरण तथा सामग्री,स्थानीय तथा राष्ट्रिय कम्पनीका साथै बहुर्राष्ट्रिय कम्पनीका औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामग्री, महिला उद्यमीद्वारा उत्पादित सामग्री बिक्री–वितरणका लागि राखिएका छन् ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, घरजग्गा, अटो, खाना तथा वस्तु र सेवाको प्रदर्शनी एवं बिक्रीलगायत कार्यक्रम रहेका छन् ।


प्रतिक्रिया