ट्रम्प रुसको दुष्प्रचारबाट प्रभावित भएको जेलेन्स्कीको आरोप


बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले रुसबाट धेरै दुष्प्रचार बेहोरेको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यसबाट प्रभावित भएको बताएका छन् । ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको रेटिङ् ४ प्रतिशतमा झरेको भनेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
अहिले युक्रेनी जनतामध्ये ५८ प्रतिशतले आफ्नो नेतृत्वलाई रुचाएको उनले बताए । उनी सन् २०१९ मा पाँच वर्षका निम्ति युक्रेनका राष्ट्रपति निर्वाचित भएका हुन् ।
युक्रेन युद्धपश्चात् अमेरिका र रुसबीच साउदी अरेबियाको रियादमा मङ्गलवार भएको पहिलो प्रत्यक्ष वार्तापछि बोल्दै राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति सम्झौता हासिल हुने बारे आफू थप विश्वस्त भएको बताएका छन् ।
उनले युक्रेनले युद्ध समाप्त पार्न यसअघि नै सम्झौता गर्न सक्थ्यो पनि भनेका थिए । आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आश्चर्य प्रकट गरेकोप्रति ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन् ।
किएभले आफू सामेल नभई गरिएका कुनै शान्ति सम्झौतालाई मान्यता नदिने भनेको छ । यसबीच मस्कोमा बोल्दै रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेन सङ्कट समाधानका निम्ति मूल कारणहरूको सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन् ।
उनले रुसविरुद्धका सुरक्षा खतरा हटाउन जरुरी भएको र त्यसको सिर्जना युक्रेनलाई नेटो गठबन्धनमा तान्ने प्रयासले गरेको बताए । युक्रेन हाल नेटो गठबन्धनमा छैन तर सन् २००८ मा उक्त गठबन्धनले युक्रेनलाई पनि भविष्यमा सदस्यता दिइने सहमति गरेको थियो ।
युक्रेनको नेटो सदस्यता आफूलाई सुरक्षा खतरा हुने रुसले बताउने गरेको छ भने नेटोले चाहिँ सदस्यता लिने वा नलिने भन्ने विषय कुनै पनि देशको सार्वभौम निर्णयको मामिला भन्ने गरेको छ ।