`

पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्छ – मुख्यमन्त्री आचार्य

Nepal One HD १६ फागुन २०८१ १९:५१
राजनीति

अर्घाखाँची, १६ फागुन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने बताउनुभएको छ ।

सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताउनुभयो ।

“डिजिटल प्रविधिको उपयोग गरी प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो, “धार्मिक पर्यटकहरु आकर्षित हँुदै गएको पाएका छौँ । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।”

उहाँले धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । “हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ”, उहाँले भन्नुभयो, “देश÷विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ ।”

सो कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेललगायतले धारणा राख्नुभएको थियो ।


प्रतिक्रिया