`

‘काठमाडौँ शैक्षिक मेला–२०८१’ आजदेखि सुरू

Nepal One HD १६ फागुन २०८१ २१:२१
शिक्षा

काठमाडौँ, १६ फागुनः विद्यालय शिक्षालाई वैज्ञानिक र व्यावहारिक तथा विद्यार्थीको रूचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला–२०८१’ आयोजना गरेको छ ।

शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकको क्षमता विकासलगायत कार्यक्रमको विम्ब समेटिएको मेला दुई दिनसम्म सञ्चालन हुने छ । सो मेलाको महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले आज उद्घाटन गर्नुभयो । राष्ट्रिय सभागृहमा सञ्चालन भएको मेलामा विद्यार्थीले सिकेका ज्ञान र सीपको प्रस्तुति र प्रदर्शन गरेका छन् ।

मेलामा ‘बुक फ्री फ्राइडे’ अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रूचि र नतिजा प्रदर्शन गर्नुका साथै मेलामा सामुदायिक विद्यालयले दिवा खाजाका रूपमा रू ३० उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई रू ३० मा नै उपलब्ध गराइएको छ । उपप्रमुख डङ्गोलले भन्नुभयो, “मेलामा नेपाल भाषा, मौलिक संस्कृति, वेशभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गएको छ ।”

करिब ५० हजार विद्यार्थी सहभागी मेलामा विद्यार्थीका अनुभूति कोरिएका एक हजार बढी स्केचिङ प्रदर्शन गरिएको छ । महानगरभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार तीन सय २९ जना विद्यार्थी छन् । पाँच सय २४ वटा संस्थागत विद्यालयमा दुई लाख १० हजार नौ सय ३४ जना गरी दुई लाख ७२ हजार दुई सय ६३ जना विद्यार्थी अध्ययनरत छन् ।


प्रतिक्रिया