योगी आदित्यनाथको तस्बिरबारे शाही र रिमालबीच आरोप-प्रत्यारोप


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पूर्वराजाको स्वागत कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको दाबी गरेका छन् ।
सोमबार सामाजिक संजालमार्फत शाहीले प्रधानमन्त्री ओलीको निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आदित्यनाथको तस्बिर राख्न लगाएको शाहीले दाबी गरेका हुन् ।
शाहीले भनेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केली ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ । नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि ।’
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले शाहीको आरोपको प्रतिवाद गरेका छन् । उनले भनेका छन्, ‘कॉक्रा चोरहरू– कॉक्रा चोर्छन्, खान्छन्,पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियॉ टॉसी कुलेलम ठोक्छन् ! दलालहरू—पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् ! डिसईन्फरमेसनको सहारामा Accidently मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो ।यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नुछैन । कसले कहॉ के गर्दैछ– समाचार त आएकै छ नि !’
आइतबार राप्रपालगायत राजावादीले गरेको पूर्वराजाको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीको तस्बिर पनि देखिएको थियो ।