आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल प्रस्ताव स्वीकृत


काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो ।
दफावार छलफलमा भाग लिनुहुँदै संशोधनकर्ता सांसद प्रकाश ज्वालाले सांसदका चासोलाई संसद्ले सम्बोधन गर्नुपर्ने बताए । संशोधनकर्ता सांसदहरु मेटमणि चौधरी, भानुभक्त जोशी, सूर्यबहादुर थापा क्षेत्री, चित्रबहादुर केसी, प्रेम सुवाल, निशा डाँगी, विमला सुवेदी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, नारायणी शर्मा, रामकुमार राई, दुर्गा राई, छिरिङडण्डुप लामा भोटे, मनिष झा र शेरबहादुर कुँवरले संशोधन प्रस्ताव राखेका थिए । उनीहरुले योजना आयोगको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिएका थिए ।